Thursday, September 4, 2014

लघुकथा: कुकुर र गु।

(यो नितान्त ब्यक्तीगत भावना हुन। कोही कसैसँग मिल्न गएमा संयोग मात्रै हुनेछ।)

खै क-कसको बिउ परेर जन्मियो, छोरो डोर्‍याउँदै टहल्दा गल्लीमा पर न भोटेकुकुर न जर्मन सेफर्ड, ठिमाहा जस्तो एउटा छाउरो देखें। बालसुलभ छोरो कुदेर गएर कानमा समातेर कुँईकुँई पार्दै ल्यायो। कुकुर त्यो पनि भर्खरको हेर्दा राम्रै लागेर घरमा ल्याँए। छोरो सँग खुब रत्तियो। 'भक्के' भन्दाभन्दै अरु नाम राखिएन। भक्के खुबै चङ्खे थियो। हुर्कँदै गयो, जवान भो। कौसीबाट बाहिर उसका सहजातीहरु देख्थ्यो, कुँकुँ गर्थ्यो, दया लागेर छोडिदिन्थें, घुमेर फेरी घरै फर्किन्थ्यो।

बिचरो त्यो पनि प्राणी नै हो, उमेर सँगै मनका रहर बढे होलान, कौसीमै बसेर छिमेकीको कुकुर्नीसँग जुहारी खेल्न छोडेन। मलाई पनि पाप पो गरें कि थुनेर भन्ने लाग्यो। सदाको लागि छोडिदिंए। 'राजाको राँगो फुकेजस्तो' भो। दिनभरी कता कता डुल्थ्यो कुन्नी साँझपर्न थालेपछी गेट कोपर्थ्यो, भित्र कतै बस्थ्यो। भुस्याहाहरुको संगत हुन थालेदेखी कौसीमा प्रतिबन्ध थियो उसलाई।

एकदिन बजार गएर फर्किंदैथिए, बाटैमा चिनेर पछ्याउँदै आयो। थुतुनाँ के के लागेको थियो कुन्नी पँयट तिर दल्दियो। रिसाएर भएन। कुकुर न हो, खायो त 'गु' नै खायो होला। बाहिर त्यसलाई अरु कसले दिन्थ्यो र। 'गु' खान बानी लागेदेखी घरको खाना कमै खान्थ्यो, हामी पनि वास्ता अली कम गर्दैथ्यौं, खै जोडी छुटेछ कि कसैले कुटेछ, बाहिर निस्कनै छोड्यो। नुहाई धुवाइ गरेर फेरी त्यसको सत्कार गर्न थालियो। राती गेट 'किरिक्क' हुँदापनि उही भुक्छ पहिला भनेर। सबै त राम्रै थियो, चल्थ्यो, गर्न सकिन्थ्यो तर खाना खानै छोड्यो। खाना दियो, पारी पारी हेर्ने, दाल-भात, मासु हड्डी वास्तै नगर्ने। बर्षौ त्यही खाना खाएर हुर्किएको 'भक्के' केहीदिन बाहिर 'गु' खान पल्किएको थियो, उसलाई खाना जाती लागेन, मिठो लागेन, स्वाद भेटेन, खाएन। आखिर 'खाना' र 'गु' त्यत्ती फरक त होईनन तर उसलाई अब 'गु' नै स्वादिलो र आफ्नो खान्की लाग्न थालेछ। अब मैले खाना ख्वाउन खोजेर सक्दिन, खोजेर 'गु' ल्याएर दिन नि सक्दिन। त्यसैले मैले 'भक्के' लाई स्वतन्त्र गरिदिंए, उसलाई उसको मौलिक अधिकार फिर्ता गर्नु नै मेरो धर्म थियो। ईती।            

(त्यसैले कसैले हिजो अर्काको घरमा बसेर खाना खाएको थियो, आज आफ्नै संसारमा रमाएर गु खान पाउँदा खुशी छ भने उसको अधिकार र स्वतन्त्रतामा खिल्ली गर्न पाईएन। उसको मौलिक अधिकारको सम्मान त गर्नैपर्छ। तर गु खान थालेकै ले खाना खानै नहुने र खाए कुकुरको धर्मै नासिने चैं होईन। :D)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment