Wednesday, September 3, 2014

लघुकथा : खरायो र बिरालो।

घरबेटी भै'खाको म। घराँ एक जोडी खरायो र बिरालो थे। दुबै घरपालुवा। एकापसमा रत्तिएका। म हुन्जेल तिनमा बडो प्रेम थियो। छोराछोरी हुर्किए, जान्नेसुन्ने भए, आफ्ना व्यबहार आँफै गर्ने भए, हामी बुढाबुढी घर रुँघेर बस्ने भयौं।

जिन्दगी राम्रै सुखै थियो। पढेलेखेका छोराछोरीसँगै नयाँ नयाँ शैली र संस्कार भित्रिए, बुहारी भित्रिए। किचलो बढ्दै गयो। सन्तानलाई घरका भन्दा छिमेकीका रहनसहन राम्रो लाग्न थाल्यो। एकतमास सप्पै बुहारीका माईती र छोराका ससुराली हामी भन्दा प्यारो भए, उनिहरुकै खुशीका लागि हामी जोईपोई बनबास जाने भयौ।

हामीले छोडेर पनि त्यो घरमा खुशी छाएन। घर घर जस्तो रहेन। बुहारीलाई अधिकार पुगेन। छोरालाई पुरुषत्व पुगेन। आरक्षण पुगेन। कलहले नाती पनाती सम्मका समुह बन्यो। एकापसमा मनमुटाव र बैमनस्यता बढ्यो। अब एकै घरभित्र पनि एक एक कोठा चाहिने भो। लड्दै गए। 

त्यो देखेर हिजोसम्म मिलेका खरायो र बिरालो पनि लड्न, चिथोर्न थाले। एकले अर्कोलाई जात र रंगको आरोप प्रत्यारोप लगाउन थाले। आ-आफ्ना खोर मागे। आ-आफ्ना कर्मले रमाएका प्राणी आज हेपिएको गुनासो गर्न थाले।

हिजोसम्म खोरको आवश्यकतै नपरेका र एउटै घरभित्र मिलिजुली रमाएका खरायो र बिरालोलाई अब आ-आफ्ना खोर चाहिने भो। यिनले घरभित्र नपाएको स्वतन्त्रता त्यो खोरमा थुनिएर पाउँछु भन्ने बुझ्न थाले। यिनलाई खोरमा थुनेर मालिक हुन पल्किएका केही जमात ति खोरमा फुलबुट्टा भरेर बेच्न तल्लिन छन भने खोरका मालिक बनाईदिने आश्वासन दिएर केही शिकारी आफ्नो शिकार सुरक्षित गर्न हरतरह प्रयासरत छ। 

महिला, दलित, आदीबासी, जनजाती, बाहुनबाद र संघियता सप्पै हेर्दैछु म टुलुटुलु। यिनका आन्दोलन र माग त्यही खरायो र बिरालोको भन्दा रत्ती फरक देख्दिन। यि स्वतन्त्रता र अधिकारको लागि घर छोडेर खोर माग्दैछन र आफु बन्दी भएर मालिक र शिकारीलाई सहयोग गर्दैछन। हिमाली, पहाडी, मधेशी, सम्पूर्ण जातजाती, भाषाभाषी, महिला-पुरुष र बर्गको हित हाम्रो अखन्डता र सार्बभौम शक्तीमा मात्रै छ।

आउनोस् हातेमालो गरौं, दल, बाद, सिद्धान्त र सर्बसत्ताबादले एकअर्कामा देखिएको बिकृति र बैमनष्यता नासेर मेची-काली फैलिएको अखण्ड सुन्दर शान्त नेपालको नेपाली हुँ भनेर गर्व गरौं। 
ईती।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment