Wednesday, September 3, 2014

लघुकथा : गाई र गोरु।

माया गरेर गोठैमा पुजिएकी गाई र चुट्दै जोताईएको गोरु बिच झगडा परेछ। 

गाईले फुकिएर बाहिरी संसार हेर्न नपाएको, दिनहुँ लाम्टो तानेर दुध पिलाउनु परेको, गर्भाधान हुनुपरेको र बाच्छाबाच्छी हेर्नुपरेको गुनासो गरिछन। गोरु पनि के कम, चुट्दै जोताएको, गाढा तानेको, भारी बोकाएको, पुच्छर निमोठ्दै मुखौरो लगाएर मेलो लगाएको, खोलेपानीमा हेलाँ गरेको, बन्सो घाँस गाईलाई र घुरान, पराल आफुलाई ख्वाएको गुनासो गरेछ।  

दुबैले आ-आफ्ना पिर पोख्न भगवान पुकारेछन र समान अधिकार माग गरेछन। 

सृस्‍टिकर्ता ब्रह्मा स्वयम प्रकट भएर गाई गोरु सभा डाक्नुभएछ र सोध्नुभएछ: "तिमीहरुको तपस्याले म प्रसन्न भए। आ-आफ्नो समस्या र माग जाहेर गर।"

मुन्टो निहुराउँदै गाईले गोठबाट फुकिनुपर्ने, आफ्नो ईच्छा र आकांक्षामा गोरुको मनोमानी नचल्नुपर्ने, आफुपनी गोठ बाहिर काम गर्न पाउनुपर्ने, बाच्छाबाच्छी गोरुले पनि हुर्काउनुपर्ने र गाईका कामहरुमा सघाउनुपर्ने माग राखिछन। गोरु झन के कम, जुरो तनक्क तानेर, गाईले खाने खोलेपानी देखी घाँसपराल उही जोतिएर उब्जेको ध्वाँस लगाएछ। मेलापात देखी गौचरण सम्म आफु चुटिएको तर गाईलाई भने ढोगेको, पूजा गरेको आरोप लगाएछ। 

सृस्‍टिकर्ता ब्रह्मा दुबैको गुनासो, अहंकार र आक्रोस देखेर मुसुमुसु हाँस्नु भएछ र भन्नुभएछ: लक्ष्मी स्वरुप पुजिएकी गाई र खनजोत गरेर सृस्‍टि सिंगारेको गोरुलाई समान अधिकार त दिने तर गाईलाई जोताएर गोरुको दुध कसले पिउने?

(अधिकार मात्रै भनेर एकापसमा लडेर मात्रै भएन, एकअर्काका शारिरिक संरचना, प्राकृतिक नियम र तिनका उपयोगीता पनि बुझ्दिनुपर्‍यो। मायाले संसार जितिन्छ, जाबो एउटा घर र श्रीमान/श्रीमतीको मन जित्न नसकिने भन्ने होईन। महिलाहरु हेपिएका र भिन्न व्यबहार गरेर पिडा थोपरिएका धेरै गहन बुँदाहरुमा न्याय दिईनुपर्छ र अन्य शिक्षित समाज सँगै सुधारिंदै जान्छन। महिलालाई समान शिक्षा र अवसरमा सहभागी गराईनु पर्छ तर अधिकार र आरक्षणको नाउँमा अस्तित्व र जिम्मेवारी नजरअन्दाज गर्नु भएन।)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment