Monday, November 3, 2014

"संबिधान र सहमती"

खेल्ने उमेर सक्किएर स्कुल जान थालेपनि हामी भिरपाखाँ हुर्केकालाई शहर नौलो, त्यताका लवज नौलो। चारकक्षा तिर ABCD पढेर शिक्षित भएका हामीलाई नयाँ कुरो सुनाउन कि त शहर तिर पढ्ने पुरेतको छोरो आउनुपर्थो कि त डल्ले ड्राईभर। घराँ भ'को रेड्योले सुनाएका कुरा खै दिमागले कहिल्यै टिपेन। बरु बा'ले पो के के बुझ्थे कुन्नी, कहिले दाइना कहिले बाईना घुमाएर 'घटना र बिचार' सुन्नुन्तो। लाज हुने उमेर सम्म पनि जाँघेको पुठ्ठोपट्टी कहिल्यै प्वाल टुटेन। पाउरोटी चप्पलका फित्ता तिन्ठाउँ गाँसिन्तो टुकी झोसेर। हामीलाई त ति चप्पलका लोती बुढीऔंला र चोरीऔंलाको बिचको कापमा लाउनुपर्छ भनेर फापरबारीको हाटबजार आउँदा मात्रै थाहा भो त्यतिन्जेल हामी चोरीऔंला र माझीऔंलाको कापमा लाउँथ्यौ। तब न एकातिरको आधापाखो एक ईन्चीको हुँदापनि अर्कोपाखो कुर्कुच्चोले डिम्पल बनाईसक्थ्यो।  

उन्ताका सेतोपेट गर्न कि त श्राद्ध आउनुपर्थ्यो कि त दशैं। घिम्रेसाँईलो प्युटारको डाँडा'ट कौलास्थ्यो - "ए कान्छा, आज हाम्राँ बुढीआमोईको सराद्दे छ'रे, भात पकाम्ने अ'रे। सेतोपेट गर्ने भए मुन्टी होई"। कोदो र मकै फापर मात्रै देखेका हामीलाई खै के जाती "घैया" भन्ने पाखाँ फल्ने धान त्यै पुरेतका छोराले सिकाईदिएर बारीमै फलाउन थालियो र दुध सितपनि गलो लाग्ने भात खान पाईएकोथ्यो। गामका दु:ख गामलाई नै छोडेर हामी शहर पस्यौं। आफुले हलो जोतेपनि छोराछोरीलाई सुख दिने सोचाईले बा'ले सानो पसल सुरु गर्नुभो। गाउँ त उही बर्षमा एकबार 'दशैं'का बेला पुग्ने भयौं।

हामी शहर पस्यौं, उता गाउँमा जुठे दमाई, डल्ले ड्राईभर, माईली सुनार, थेबा स्याङ्तान र थर्पुकी सुन्तली लगायत भेला पारेर पुरेतका छोराले 'जनयुद्ध' शुरु गरेछन। शहर बसेर पढेलेखेका त्यसमाथी पुरेतका छोरा। सबैले मान्थे। उनले पनि दु:ख बेसाएका गाउँलेलाई सुख दिन मोर्चाबन्दी गरेका होलान तर मोर्चाले खोरको खसी र भान्छाको भात लुटेर खाने बाहेक केही दिएन गाउँलेलाई। जुठे र डल्ले दुबई गएछन, माईली सुनारले युद्धताकै तिनपुस्तालाई पुग्ने पैसो जम्मा पारेर पार्टी कै एउटा छापामारलाई पोई बनाएर काठमाडौं छिरेकी रे, खै कता ठुलो होटेल छ रे अहिले। थेवा गाउँतिरै उही खोरिया खोस्रिंदै छन। पुरेतका छोरा चैं चुनाव जितेर संबिधान बनाउन गए अ'रे सँगै सुन्तलीलाई पनि समानुपातिकमा सभासद बनाएका र'छन।

१८ बर्ष पछी त्यो गाउँ धेरै फेरियो। बिचार फेरिए। मान्छे पनि फेरिए। आज सबै केही शिक्षित पनि भए र कमसेकम समाचार बुझ्नेसम्म भए। प्युटारको घिम्रेसाँईलोले ज्यामिरेमा पसल राखेछ। बसेर चिया पिउँदै गाउँका कुरा सुन्दै थिएँ, २-४ जना पुराना साथी अरु पनि भेला भए। कोही माओवादी भएछन, कोही काङ्रेसी कोही उही एमाले - जनमोर्चा।

सबैले मै ठुलो, मै राम्रो भन्ने कुरो गर्दैगर्दा भित्रा'ट साँईली भाउजु कराउनु भो, खाना के बनाउने? कती बनाउने? गफले मात्रै पेट भरिन्छ र?
५-६ जना सबैले त्यहीं खाने कुरो भो तर के खाने भन्ने टुङ्गो लागेन। मलाई त सादा दाल-भात भए पुग्थ्यो, साँईलोलाई कुखुरो नकाटी भएन। अर्कोलाई भातमा घ्यु चाहियो अ'रे, उ मासु नखाने अ'रे। अर्को चैं नुनपिरो नखाने तर दही/दुध चाहियो अ'रे। कुरो गर्दा गर्दै पुरेतका जेठा छोरा आईपुगे, उनलाई चैं लसुन प्याज केही हाल्नै नहुने रे। आपत परो साँईली भाउजुलाई। दो'डा जोईपोईको भान्छा। कन्ती कसौंडी पनि दो'डा अब यि सप्पैका माग धान्नु कसरी? ख्वाउनु कसरी? सबैका आ-आफ्ना अड्डीदेखी रिस उठेर भाउजुले सबैका मागलाई समानुपातिक सम्बोधन गर्ने भनेर खोले पकाउने भाँडो बसालिछन। दाल, चामल, कुखुरो, घ्यु, आलु/काउली, लसुनप्याज, नुन-खुर्सानी, दही/दुध सप्पै एकैभाँडोमा खिचडी पकाए गरी पकाईछन तर अब ख्वाउने कसरी? त्यो खाने कसले? त्यो पाकेको खानाको नाम के?

भान्छामा छिरेको साँईलोले झोक्किंदै सोध्यो, के पका'की यो तैंले? भाउजुले खिस्स हाँस्दै जवाफ दिनु भो - संबिधान। साँईलो झन रिसायो,  कसरी खाने यो अब? भाउजुले रेडिमेड जवाफ दिनुभो - सहमती गरेर:))