Friday, December 26, 2014

यसकारण गणेश थापालाई दोस्रो संबिधानसभाको मनोनित सभासदमा नियुक्त गर्नु गलत थिएन।

सधैंं गलतलाई आक्रामक ढंगमा गलत भन्ने र सत्यको समर्थन गर्ने मेरो स्वभाव हिजो केही साथीहरुको बहसमा बिचलित रहेको आरोप लाग्यो। मैले त्यो आरोपलाई अस्विकार गर्न सकिन। त्यसैले केही तथ्य सहित छोटो ब्लग लेख्नु आवश्यक देखें।

गणेश थापालाई सभासद नियुक्त गर्नु गलत थिएन भन्ने बाहेक अन्य मुद्धामा म जान चाहन्न। र मैले मेरो ट्विटमा कुनै ब्यक्ती भन्दापनि उसको नियुक्तीलाई बचाउ गरेको सत्य हो। शाही सेना पारिवारिक पृष्‍ठभुमी भएका थापा पञ्चायतकाल पछीपनि शक्तीशाली हुनु र २० बर्ष एन्फामा राज गर्नु सहज होईन। क्षमता नभएको भए 'मण्डले'को ट्याग पाएका ब्यक्ती काङ्रेस एमालेको प्यारो हुनु सजिलो पक्कै थिएन। राष्ट्रिय फुटवल खेलाडी र टिम क्याप्टेन पैसा र पहुँचकै भरमा मात्रै सम्भव हुन्न, खेल देखाउनु पनि पर्छ। यि यावत घटनाले उनी सक्षम थिएनन भन्नेमा संका रहन्न। 

अब कुरा आयो घोटाला र भ्रष्ट्राचारको आरोपको। पहिलो त आरोप लाग्दैमा भ्रष्ट्राचारी भनिहाल्न मिल्दैन। तरपनी सार्वजनिक ब्यक्तीले स्वच्छ छबी बनाउन नसक्नु कमजोरी हो। सन्डे, गार्डियनले लगाएको आरोप, नेपाली मिडियाले खोतल्ने कोशिस गरेका केही घोटालाका केसले उनलाई चिन्नेहरु माझ अलोकप्रिय बनायो। अझै बिन हमामको अधोगती पछी उनी फिफामै पनि केही कमजोर भए। अन्यथा पहिलो पटक फिफा अध्यक्षलाई नेपाल ल्याउनुमा उनको योगदान ओझेल पर्ने थिएन। 

नेपालका हरेक संस्थामा बाह्य अदृष्‍य शासन चल्छ, चाहे त्यो सरकार र उसका संयन्त्र होस् वा गैरसरकारी क्षेत्र। खेलकुदमा त झन सरकार निरिह रहेको एनओसी बिबादले छर्लङ पारेकै छ। र आ-आफ्ना महत्वकांक्षा पुरा गर्ने यिनले पनि कुनै कसर बाँकी राखेका छैनन। तापनी उनी माथि अनेकौं आरोप लाग्यो, मात्रै अदालत कोही पुगेन। अहिलेपनि लेखा समितीले हटाउनु अघीदेखी एन्फा बिबाद चलेको थियो। खेलाडी र पदाधिकारी बिभाजित भए। पारस खड्काले क्रिकेट प्रशिक्षकको अवधी नबिकरण गर्न लिएको अडान जस्तै फुटवल खेलाडीहरुले उनको पक्षमा लबिङ नै गरेका हुन। तापनी लेखाले छानबिन पश्चात हटाउने पक्कापक्की भो, यिनले सुईको पाए। सेफ ल्याण्डिङ खोजे - नेतृत्व हस्तान्तरण। उनीमाथी धेरै पुराना आरोपहरु पनि थिए जतीबेला सत्तामा कमल थापा होईन एमाले काङ्रेसको राज थियो। उनलाई पटक पटक काङ्रेस र एमालेबाट राजनितीमा आउन अफर नआएको होईन। लोकतन्त्रपछी कमल थापाको उदय यो स्थितीमा हुन्नथियो भने उनले रा.प्र.पा नेपालको सदस्यता लिंदैन थिए। यो पक्का हो। किनभने हरेक मानिसमा महत्वकांक्षा र अहम स्वभाव हुन्छ र मानिस आवश्यकताको उच्चतम तहमा पुग्न खोज्छ। २० बर्ष एन्फामा एकाधिकार हुनु प्रजातान्त्रिक बिधी होईन तर त्यसलाई मलजल गरेको र स्विकारेको प्रजातन्त्रकै गोठालो एमाले काङ्रेसले हो। र टिक्न सक्नु गणेश थापाको सक्षमता। अब कुरा आउँछ घोटालाको। मह काढ्नेको हातमै मह लाग्या छैन भनेर मैले बचाउ गरें भने म मुर्खै हुन्छु नि। सभासद नियुक्ती बाहेक उनले कहाँ कहाँ गल्ती गरे र ति गल्तीलाई सम्बन्धित निकायले पुष्टी गरी कसुरदार ठहर गरियो कि गरिएन? मैले यसको बचाउ गरेको हुँ।

पहिलो संबिधानसभामा २६ मनोनित सभासदको नियुक्तीमा भएको मनोमानीलाई सर्बोच्च अदालतले हस्तक्षेप गर्नु जायज थियो। जसले राजनैतीक दललाई दलगत भन्दा पनि राष्ट्रिय ब्यक्तीलाई सभासद बनाउनु थियो र ति नियुक्त गर्ने दलप्रती बफादार हुनु जरुरी थियो। कमल थापाका भाई हुन भन्ने कुरा बिर्सने हो भने गणेश थापा भन्दा चर्चित र स्थापित राष्ट्रिय ब्यक्ती रा.प्र.पा नेपालमा थिएन। अन्यथा लावती पक्षले पटक पटक फुट्ने चेतावनी दिंदा पनि नियुक्त गर्नुपर्ने थिएन। अर्को गणेश थापालाई उनी माथिका आरोप र राजनैतीक आडमा बँच्ने नियत हुन्थ्यो भने सत्तापक्ष समेत रहेको काङ्रेस एमालेमा जानु फलदायी थियो। उनको ब्यक्तित्वले उनी सभासद हुन रा.प्र.पा नेपाल र दोस्रो संबिधानसभा कुर्नुपर्ने थिएन। अवसर पहिल्यै थियो। 

लेखा समितीले कारबाही त गर्‍यो तर 'निलम्बन' शब्द छुटायो। त्यही शब्दले पार्टीलाई सभासद बनाउन लामो बहस गर्नुपरेन। अर्को घोटाला र आरोपको यती लामो श्रिंखलामा कोहीपनि अदालत वा अख्तियार पुग्न सकेन। पुष्पकमलको चाहनामा नियुक्त भएका लोकमानले थापा कमललाई पक्कै सहुलियत दिंदैनन। अख्तियारले भ्रष्ट्राचार मुद्धा दायर गर्न सकेको भए सभासद हुने सम्भावना पनि थिएन। र आरोप कै भरमा बञ्चित गर्ने हो भने राजनैतिक ब्रितमा सबै शुशिल कोईराला छैनन। आरोप र घोटाला केसमा गणेश थापा जती अलोकप्रिय छन, उनको क्षेत्रमा त्यो भन्दा धेरै गुणा लोकप्रिय पनि छन। लामो समय एकाधिकार जमाएको ब्यक्तीलाई फरक बिचारको सरकार र ब्यक्तीले जोगाउनु, राज गर्न दिनु र यती लामो समय छानबिन र कसुरदार ठहर्‍याउन नसक्नुमा दोष उनको भन्दा तत्-समयका कार्यकारीको हुने भो। सुखसयल, सम्पत्ती र सत्ताको लोभ हरेकमा ब्यक्तीमा हुन्छ। प्रचन्ड उदय पनि त्यही नै हो।

हिजोको बहसमा मेरो तर्कलाई प्रतिबाद गरिएको र मैले जस्टिफाई गर्नैपर्ने एउटा तर्क थियो, गणेश थापालाई चोखो देख्नेले बाबुराम/प्रचन्डलाई हरेक पटक अपराधी किन भन्नु त? भन्ने हो। अती प्रिय ब्यक्तीको यो तर्कमा राजनिती थिएन। पुर्वाग्रह थिएन अझै भनौ निष्पक्ष जवाफमा उनका तर्क अन्यको भन्दा बलियो थियो। गणेश थापालाई मैले चोखो देखेको छैन। मैले मेरो बुवाको मुखबाट यिनका धेरै किस्साहरु सुनेको छु। तर ति सबै पर्दा पछाडि रहे। अहिले राज्यले स्विकारेको बिधी र त्यसले दिएको बाटोबाट उनी सभासद हुनु गलत होईन। न लेखाले न अख्तियारले 'निलम्बन' गर्न सक्यो। न त सभासद नियुक्त हुनुपुर्व सम्मानित अदालतले कुनै आरोप प्रमाणित गरेकै छ। यो अवस्थामा उनलाई सभासद बनाउन नहुने भन्ने तर्क भावावेग मात्रै हो। अब प्रतिबाद गरिएको माओवादी अपराधी किन? भन्ने तर्कमा - मैले होईन स्वयम् बाबुराम प्रचन्डले डेकेन्द्र, कृष्ण अधिकारी, उज्जनका केसहरु अदालत पुग्दा खुलेआम हस्तक्षेप गरेको, सर्बोच्चले कसुरदार ठहराएको बालकृष्ण ढुङ्गेललाई पार्टीको आन्तरिक गतिबिधीमा कृयाशिल राखेको र हत्यारा हामी हौं सके हामीलाई पक्र भनेर भनेकै हुन। भन्दैमा हत्यारा हुन्छ? हुँदैन तर डेकेन्द्र केसमा अदालतले कार्यकर्तालाई कसुरदार ठहर्‍यायो। अपराधमा गर्ने र गर्न लगाउने दुबै कसुरदार ठहर्छ। नेतृत्व र आदेशकका हिसावले प्रचन्ड बाबुराम प्रमाणित अपराधी हुन। अन्यथा गंगामायाको श्वास बिरमा र नन्द्रप्रशादको लाश टिचिङमा बन्दी हुनुपर्दैन थियो। अझैपनी माओवादी प्रती मेरो आक्रोस जघन्य अपराधमा मात्रै हो। तिनको घोटाला र अकुत सम्पत्तिको छानबिन अब साध्य लाग्दैन। ब्यक्ती हत्या र बलात्कार जस्ता जघन्य अपराधले न्याय पाओस भनेको हुँ। तर पनि एक सचेत नागरिकको हैसियतले मैले मिडियामा आएको आरोप, संका र देखिएको तर कसुर ठहर नभएको ब्यक्ती वा संस्थालाई ईमान्दार भन्न मिल्दैन। यही कारणले गणेश थापालाई आरोप लगाउने मात्रै होईन सम्बन्धित पक्ष अख्तियार र अदालत जाओस र आरोप छानबिन होस् भन्दै आएको छु। कसुर ठहर भयो भने उनी एकछिन पनि सभासद मात्रै होईन रा.प्र.पा नेपालबाट पनि निष्काषित हुनेछन। खुमबहादुरलाई जस्तो माला बोकेर पार्टी फैसला बिरुद्ध आन्दोलन वा रिहाईमा गयो भने मैले समर्थन फिर्ता लिनेछु। माओवादी (TRC)लाई जस्तो खुलेआम राज्य (एमाले काङ्रेस)ले उनको घोटालामा नजरअन्दाज गरेको वा छानबिन गर्न नचाहेको प्रष्ट देखियो भने मैले बचाउ गर्ने छैन। धन्यवाद।

(कमल थापा र उनको पार्टीलाई समर्थन - धर्मनिरपेक्षता र संघियताको बिरोध र मानार्थ राजतन्त्रको मुद्धामा मात्रै हो। यि मुद्धालाई प्रभावित वा प्रतिघात हुने किसिमको कुनैपनि कृयाकलापमा मेरो समर्थन रहने छैन। त्यो अवस्था आए र आवश्यक परे म स्वतन्त्र छु कमल थापाको बिरोध गर्न पनि)



तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस


0 comments:

Post a Comment