Monday, October 13, 2014

अर्थमन्त्री ज्युलाई खुलापत्र।

अर्थमन्त्री ज्युलाई खुलापत्र।

हरेक पटकको नेपाल आगमनमा त्रिभुवन बिमानस्थलमा अनेक किसिमका नौटंकी देख्न, सुन्न र भोग्न पाईन्छ। हुन त हामी नागरिक केही सामान लुसुक्क वा खासखुस गरेर खुसुक्क निकाल्नसके आफुलाई पहुँचवाला मान्छौं भने अध्यागमनमा कार्यरत कर्मचारीहरु केही दाम खुसुक्क पाउनसके भाग्यमानी ठान्छन। यि कहिल्यै नटुङ्गिने र उपचाररहित समस्या हुन। मानिस स्वभावैले लोभी जात हो, लोभको उपचार छैन।

मैले यहाँ अर्थमन्त्रीज्युको ध्यानाकर्षण गराउन खोजेको चाँही यसबर्षको बजेटमा यहाँकै अनुग्रहमा बैदेशिक रोजगारमा गएका नेपालीलाई ३२ ईन्च टिभीमा भन्सार शुल्क नलाग्ने भन्ने बिषय अन्तर्गत त्रिभुवन बिमानस्थलमा टाँसिएको सुचना र भन्सार महसुल बारे गुनासो मात्रै हो। यसैबर्ष देखी लागु भएको यो सेवा अन्तर्गत अर्थमन्त्रीज्युको अनुकम्पाले एउटा श्रम बेच्न गएको नेपाली कामदारले ३२ ईन्चीको टिभी बोकेर घर आउने रहर त पुरा भयो तर असान्दर्भिक र गलत नितिनियमका कारण केहीले अध्यागमनमा भन्सार बुझाउनै पर्ने बाध्यता भने हटेन।

दसैंं उपहार भन्दै गत अक्टोबर २ तारिक फ्लाई दुबई मार्फत म त्यही ३२ ईन्चीको टिभी बोकेर अध्यागमन पुग्दा पो छक्क परें, मेरो टिभीमा त हजुरले बनाउनु भएको नियम अनुसार लगभग चौध हजार भन्सार लाग्ने रहेछ। एक साल भन्दा कम समय बसेर फर्किनेलाई त लगभग पुरै भन्सार महसुल लाग्ने रहेछ। म बिगत सात साल देखी बैदेशिक रोजगारमा छु भने हरेक दुई सालमा नेपाल सरकार, बैदेशिक रोजगार बिभागमा बिदेशी भुमीमा श्रम बेचेबापत शुल्क बुझाउछु भने मलाई लेबर होईन भन्न सक्नुहुन्न होला। लेबर भिषामा साउदी अरबमा श्रम बेचिरहेको म मेरो मालिकको सदासहायतामा हरेक छ महिनामा नेपाल आउँछु भने मैले सरकारले दिएको छुट किन लिन नपाउने? श्रम शुल्क बुझाएर पासपोर्टमा श्रम स्टिकर टाँसेर बिदेशिने म जस्ता कयौ कामदार सबै एक साल वा दुई साल पुरा गरेरै नेपाल फर्किन्छन भन्ने मानसिकता गलत हो। सरकारले भिजिट भिषामा तीन वा छ महिना घुमेर फर्किनेहरु र बैदेशिक रोजगार बिभागमा श्रम शुल्क बुझाएर बिदेशिने कामदारलाई उस्तै नियम लगाउनु उपयुक्त हुन्न। दुई सालको श्रम शुल्क तिरेर बिदेशिएका नेपाली कामदार तीन महिनामा आउन वा छ महिनामा, अध्यागमनमा उसले पाउने सेवा सुबिधामा किन भिन्नता? हरेक पटक टिभी बोकेरै आउँछ भन्ने डर हो भने पासपोर्टमै श्रमको स्टिकर सँगै "३२ ईन्चीको टिभीमा पाउने भन्सार छुट सुबिधा पाएको" स्ट्याम्प लगाईदिनोस अर्थमन्त्रीज्यु तर लेबर नै भएपनी धेरै नेपाली एक बर्ष पुरा नगरी नेपाल फर्किनुपर्ने बाध्यता वा अवस्थाका हुन्छन। ति सबै घुमघाम गर्न गएका हुन र त्यस्तालाई भन्सार शुल्क लगाउनै पर्छ भन्ने मानसिकतामा बनाईएको नियम संसोधन गर्नोस।


मलाई एयरपोर्ट झरेर लगेज निकाल्दै गर्दा एक ब्यक्तीले खुसुक्क सोध्नु भो, टिभी ल्याउनु भएछ कती बर्ष बसेर आउनु भो? मैले भनें, बस्न त छ-सात बर्षै भो तर अहिले चैं छ महिना पछी फर्किंदै छु। उहाँले पासपोर्ट हेर्नु भो र लगभग चौध हजार भन्सार लाग्ने तर खासखुस गरेर थोरैमा मिलाईदिने कुरा गर्नुभो। मैले २०-२५ हजारको टिभीमा अर्को १४ हजार तिर्नैपर्ने कुरो सुन्दा टिभी त्यहीं फुटाईदिम झैं झोक नचलेको होईन तर रिस पोख्न सम्बन्धित ठाउँँमै जाने तर एक पैसो खासखुस नगर्ने जवाफ फर्काएँ र अघी बढें। भन्सार शाखाका एक भद्रभलाद्मीले सबिस्तार सरकारको नियमावली देखाउनु भो, मैले टिभी डिपोजिट गराँए, पैसो जोरजाम गरेर भन्सार तिरेको रसिद काटेरै टिभी बुझेँ। अरुले झैं लगेज बुझेर दुईसाल बसेर फर्किनेलाई टिभी बोकाएको भए वा खुसुक्क २-३ हजार दिएको भए अध्यागमनकै कर्मचारीले पनि दुईसाल बस्ने अन्य कामदारको पासपोर्ट कपीमा मिलन गर्ने चलन थाहा नभएको होईन बरु सच्चा नागरिक हुन चाहेको हुँ। तर यि र यस्तै नितीनियमले सधैंं आफुलाई सच्चा देखाउन सकिन्न र ठगी गर्ने खालको नितिनियम चुप लागेर मान्न पनि सकिन्न।

धन्यवाद।
विश्वराज न्यौपाने,
दमाम - साउदी अरेबिया।