Thursday, May 1, 2014

अन्तर्द्वन्द - जिन्दगीको

भालेको डाँक सँगै
बेँसी पँधेरा को पानी
घर-गोढ को धन्दा
त्यसपछी सुरु हुन्थ्यो बिहानी
यस्तै यस्तै त थियो मेरो जिन्दगानी।

विकट पहाडी गाँउ
खरको झुप्रो घर
सानैमा बाबु गुमाउनुको पिडा
अनी गरिवीमा बाँचेको मेरो परिवार  
आमा, म र मेरी बहिनी।

पिछडिएको जनजाती
दुई कोश टाढाको स्कुल
उमेरले पन्ध्र काटिसक्दा पनि
सातौ कक्षाकी मेरी सहपाठी
उनी, स्‍मृति - मेरी मिल्ने साथी।


हुर्कदै गरेको उमेर
जवानी सँगै मनका अन्तरंग
मौलाउदै गरेको हाम्रो प्रेम
सुखमा हुर्किएकी स्‍मृति र उनका आकांक्षा
अनी दु:खले जेलिएको म र मेरो परिवार।

२०५७ फाल्गुन-चैत्र
स्कुल भित्र आर्मी-पुलिस
गाँउ-गाँउ खानतलासी
अनाहक यातना,हत्या र गिरफ्तार
म, मेरा गुरुहरु र हामी माओवादी?

पिरोलिएको मेरो परिवार
लखेटिएको मेरो जीवन
राज्यले दिएको "आतंककारी" को बिल्ला
अनी बाध्यताले बोकेको रातो झन्डा
म? क्रान्तिकारी माओवादी?

जनसत्ता,बर्गसंघर्ष अनी संबिधानसभा
गोली लागेको खुट्टा
बमले खायका हातका औंलाहरु
न चाहेर छोड्न सकिन्थ्यो न स्विकार्न नै
म,एउटा जनसेना अनी मेरा सस्मरण।

तर अफसोच आजको यथार्थ,
अशिक्षित र शिप बिहिन मेरा पाखुरा
छिन्न-बिन्न मेरो परिवार
अनिश्चित र असुरक्षित भबिश्य
सायद स्वर्ग र नर्क को प्रतक्ष्य प्रतिफल
म, शिबिरबाट निकालिएको भुतपुर्ब छापामार
क. उज्वल - मेरो योग्यता र मेरो परिचय।

बाटो बिराएका जिन्दगीका पाईलाहरु
गुमेको आफ्नोपन र नभेटिएका गन्तब्यहरु
लक्ष्य उही तर फरक-फरक बाटाहरु
सुकर्म र दुस्कर्म का प्रभावहरु
आज अस्पतालको शैयामा म अनी सेतो एप्प्रोनमा सजिएकी उनी  
अर्थात डा. स्‍मृति - मेरो बिगत अनी मेरो सपना!!!!!     

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ 
एउटै श्वासमा चल्ने मुटु, आज वारी पारी भा'छ।

तिमी फुल गुलाब झैं, म बास्ना भै छाउछु भन्थ्यौ 
तर आज त्यो फुलबारी, सिउडी फुल्ने टारी भा'छ।

कुनै दिन यस्ता थिय, रात बित्थ्यो संबादले
तर अचेल तिम्रा बचन, मुटु चिर्ने आरी भा'छ।       

बन्दकी को मेरो जीवन, चाहे होला लिलामी नै। 
सुनेको छु तिम्रो बरु, छिन्-छिन्मै नामसारी भा'छ। 

घमन्डले बाटो फेर्यौ, नाप्न खोज्यौ सम्पत्तीले
धन्य आज 'बिश्व' पनि, तिम्रै हाराहारी भा'छ।
सम्झिएर पुराना दिन, आज मन भारी भा'छ।।२।।