Tuesday, August 19, 2014

छिट्टै आउन परदेशी दाई

कुर्दा कुर्दै थाकी सके, आँखाका यी नानी पनि 
छिट्टै आउन परदेशी दाई, मर्छे तिम्री रानी पनि! 

शान्त भा' छ गाऊ अचेल स्याल शहर पसे पछि 
छिट्टै आउन परदेशी दाई, बाबा भन्छे सानी पनि!! 

आमा आँखा देखनू हुन्न, छोरा भन्छिन बटुवा लाई 
छिट्टै आउन परदेशी दाई, निल्नै छाडीन पानी पनि!!! 

छोरा भेट्ने आशा मार्दै, बुबा आँशु झार्नुहुन्छ 
छिट्टै आउन परदेशी दाई, होला कुराकानी पनि!!!! 

जस्तो छाड्यौ उस्तै छू म, विवाहित कुमारी झै', 
छिट्टै आउन परदेशी दाई, उसै बित्यो जवानी पनि!!!!! 

बिछ्यौनमा नपल्टदै, झर्छ आँशु सम्झिएर 
छिट्टै आउन परदेशी दाई, कस्तो लायौ बानी पनि 
कुर्दा कुर्दै थाकी सके, आँखा का यी नानी पनि!!!!!! 

मृत्‍युपत्र

दुई थोपा आँशु झारेर के भो?
तिमी सँग मैले हारेर के भो?

भोली त अवस्य मर्नु छदैछ,
आजै तिमीले मारेर के भो?

पाप र धर्म जान्दिनौ भने,
आँगनमा तुलसी सारेर के भो?

अब त यो लोक परलोक हुँदैछ,
म हिंड्ने बाटो बारेर के भो?

यो त मृत्‍युपत्र हो "बिश्वराज" को,
तिमीले माया मारेर के भो?
दुई थोपा आँशु झारेर के भो?


Wednesday, August 6, 2014

फुल जस्तो बैंश बरु घाती हुन्छ आमा!

भाग्यमानी पातै पिपल, पाती हुन्छ आमा 
फुल जस्तो बैंश बरु घाती हुन्छ आमा!

परदेश कि दुखि चेली, कोहि छैन आफ्नो,
दुख हेर्ने दैब पनि माथि हुन्छ आमा!

बिहान देखि अबेरसम्म, कामै काम अति,
खाना खाई सुत्न लाई राती हुन्छ आमा!

कहिले बाउ, कहिले छोरा, कहिले पाहुना हरु,
पालै पालो बिच्छौनामा साथी हुन्छ आमा!

सकिन्न कि बाँच्न अब, मर्छु क्यारे यतै,
तडपियर बाँच्नु भन्दा जाती हुन्छ आमा!