Tuesday, August 19, 2014

छिट्टै आउन परदेशी दाई

कुर्दा कुर्दै थाकी सके, आँखाका यी नानी पनि 
छिट्टै आउन परदेशी दाई, मर्छे तिम्री रानी पनि! 

शान्त भा' छ गाऊ अचेल स्याल शहर पसे पछि 
छिट्टै आउन परदेशी दाई, बाबा भन्छे सानी पनि!! 

आमा आँखा देखनू हुन्न, छोरा भन्छिन बटुवा लाई 
छिट्टै आउन परदेशी दाई, निल्नै छाडीन पानी पनि!!! 

छोरा भेट्ने आशा मार्दै, बुबा आँशु झार्नुहुन्छ 
छिट्टै आउन परदेशी दाई, होला कुराकानी पनि!!!! 

जस्तो छाड्यौ उस्तै छू म, विवाहित कुमारी झै', 
छिट्टै आउन परदेशी दाई, उसै बित्यो जवानी पनि!!!!! 

बिछ्यौनमा नपल्टदै, झर्छ आँशु सम्झिएर 
छिट्टै आउन परदेशी दाई, कस्तो लायौ बानी पनि 
कुर्दा कुर्दै थाकी सके, आँखा का यी नानी पनि!!!!!! 

मृत्‍युपत्र

दुई थोपा आँशु झारेर के भो?
तिमी सँग मैले हारेर के भो?

भोली त अवस्य मर्नु छदैछ,
आजै तिमीले मारेर के भो?

पाप र धर्म जान्दिनौ भने,
आँगनमा तुलसी सारेर के भो?

अब त यो लोक परलोक हुँदैछ,
म हिंड्ने बाटो बारेर के भो?

यो त मृत्‍युपत्र हो "बिश्वराज" को,
तिमीले माया मारेर के भो?
दुई थोपा आँशु झारेर के भो?


Wednesday, August 6, 2014

फुल जस्तो बैंश बरु घाती हुन्छ आमा!

भाग्यमानी पातै पिपल, पाती हुन्छ आमा 
फुल जस्तो बैंश बरु घाती हुन्छ आमा!

परदेश कि दुखि चेली, कोहि छैन आफ्नो,
दुख हेर्ने दैब पनि माथि हुन्छ आमा!

बिहान देखि अबेरसम्म, कामै काम अति,
खाना खाई सुत्न लाई राती हुन्छ आमा!

कहिले बाउ, कहिले छोरा, कहिले पाहुना हरु,
पालै पालो बिच्छौनामा साथी हुन्छ आमा!

सकिन्न कि बाँच्न अब, मर्छु क्यारे यतै,
तडपियर बाँच्नु भन्दा जाती हुन्छ आमा!

Thursday, May 1, 2014

अन्तर्द्वन्द - जिन्दगीको

भालेको डाँक सँगै
बेँसी पँधेरा को पानी
घर-गोढ को धन्दा
त्यसपछी सुरु हुन्थ्यो बिहानी
यस्तै यस्तै त थियो मेरो जिन्दगानी।

विकट पहाडी गाँउ
खरको झुप्रो घर
सानैमा बाबु गुमाउनुको पिडा
अनी गरिवीमा बाँचेको मेरो परिवार  
आमा, म र मेरी बहिनी।

पिछडिएको जनजाती
दुई कोश टाढाको स्कुल
उमेरले पन्ध्र काटिसक्दा पनि
सातौ कक्षाकी मेरी सहपाठी
उनी, स्‍मृति - मेरी मिल्ने साथी।


हुर्कदै गरेको उमेर
जवानी सँगै मनका अन्तरंग
मौलाउदै गरेको हाम्रो प्रेम
सुखमा हुर्किएकी स्‍मृति र उनका आकांक्षा
अनी दु:खले जेलिएको म र मेरो परिवार।

२०५७ फाल्गुन-चैत्र
स्कुल भित्र आर्मी-पुलिस
गाँउ-गाँउ खानतलासी
अनाहक यातना,हत्या र गिरफ्तार
म, मेरा गुरुहरु र हामी माओवादी?

पिरोलिएको मेरो परिवार
लखेटिएको मेरो जीवन
राज्यले दिएको "आतंककारी" को बिल्ला
अनी बाध्यताले बोकेको रातो झन्डा
म? क्रान्तिकारी माओवादी?

जनसत्ता,बर्गसंघर्ष अनी संबिधानसभा
गोली लागेको खुट्टा
बमले खायका हातका औंलाहरु
न चाहेर छोड्न सकिन्थ्यो न स्विकार्न नै
म,एउटा जनसेना अनी मेरा सस्मरण।

तर अफसोच आजको यथार्थ,
अशिक्षित र शिप बिहिन मेरा पाखुरा
छिन्न-बिन्न मेरो परिवार
अनिश्चित र असुरक्षित भबिश्य
सायद स्वर्ग र नर्क को प्रतक्ष्य प्रतिफल
म, शिबिरबाट निकालिएको भुतपुर्ब छापामार
क. उज्वल - मेरो योग्यता र मेरो परिचय।

बाटो बिराएका जिन्दगीका पाईलाहरु
गुमेको आफ्नोपन र नभेटिएका गन्तब्यहरु
लक्ष्य उही तर फरक-फरक बाटाहरु
सुकर्म र दुस्कर्म का प्रभावहरु
आज अस्पतालको शैयामा म अनी सेतो एप्प्रोनमा सजिएकी उनी  
अर्थात डा. स्‍मृति - मेरो बिगत अनी मेरो सपना!!!!!     

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ 
एउटै श्वासमा चल्ने मुटु, आज वारी पारी भा'छ।

तिमी फुल गुलाब झैं, म बास्ना भै छाउछु भन्थ्यौ 
तर आज त्यो फुलबारी, सिउडी फुल्ने टारी भा'छ।

कुनै दिन यस्ता थिय, रात बित्थ्यो संबादले
तर अचेल तिम्रा बचन, मुटु चिर्ने आरी भा'छ।       

बन्दकी को मेरो जीवन, चाहे होला लिलामी नै। 
सुनेको छु तिम्रो बरु, छिन्-छिन्मै नामसारी भा'छ। 

घमन्डले बाटो फेर्यौ, नाप्न खोज्यौ सम्पत्तीले
धन्य आज 'बिश्व' पनि, तिम्रै हाराहारी भा'छ।
सम्झिएर पुराना दिन, आज मन भारी भा'छ।।२।। 

Thursday, April 24, 2014

दुई एकान भन्नेहरु दुईदुना चार भए,

धेरैभए नोटमा बिक्ने भोटका कुरा
आउ गरौं बदमासी र खोटका कुरा।।    

कती गर्छौ मालिकका बखान सधैं  
आउ गरौं गरीबका चोटका कुरा।। 

बेचिए कालाकोटे अन्धाका बजारमा
बुख्याँचाले के को सुन्थ्यो कोटका कुरा  

बाँचौ, बचाउँ र बाँच्न दिउँ सबैलाई 
जातियता बिर्सेंर गरौं अठोटका कुरा।

दुई एकान भन्नेहरु दुईदुना चार भए,
आउ काम्रेड मैदानमै गरौ दुनोटका कुरा।

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी 
रुनै परे तिमी सँगै, रुन देउ सानी। 

एउटा गीत लेखेको छु, तिम्रो संगितमा
सुमधुर हुन्थ्यो मधुर, धून देउ सानी। 

बिर्सिदेउ पुराना घाउ, सम्हाली देउ मन
दागहरु मेटाउँछु, धुन देउ सानी।

तिम्रो न्यानो अँगालो नै, स्वर्गसरी लाग्छ 
सधैं भरी मलाई तिम्रै, हुन देउ सानी। 

मेरो माया तिमीलाई, गुन लाग्छ भने 
गुन साट्न बदलामा, गुन देउ सानी। 
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी।।