Thursday, May 1, 2014

अन्तर्द्वन्द - जिन्दगीको

भालेको डाँक सँगै
बेँसी पँधेरा को पानी
घर-गोढ को धन्दा
त्यसपछी सुरु हुन्थ्यो बिहानी
यस्तै यस्तै त थियो मेरो जिन्दगानी।

विकट पहाडी गाँउ
खरको झुप्रो घर
सानैमा बाबु गुमाउनुको पिडा
अनी गरिवीमा बाँचेको मेरो परिवार  
आमा, म र मेरी बहिनी।

पिछडिएको जनजाती
दुई कोश टाढाको स्कुल
उमेरले पन्ध्र काटिसक्दा पनि
सातौ कक्षाकी मेरी सहपाठी
उनी, स्‍मृति - मेरी मिल्ने साथी।


हुर्कदै गरेको उमेर
जवानी सँगै मनका अन्तरंग
मौलाउदै गरेको हाम्रो प्रेम
सुखमा हुर्किएकी स्‍मृति र उनका आकांक्षा
अनी दु:खले जेलिएको म र मेरो परिवार।

२०५७ फाल्गुन-चैत्र
स्कुल भित्र आर्मी-पुलिस
गाँउ-गाँउ खानतलासी
अनाहक यातना,हत्या र गिरफ्तार
म, मेरा गुरुहरु र हामी माओवादी?

पिरोलिएको मेरो परिवार
लखेटिएको मेरो जीवन
राज्यले दिएको "आतंककारी" को बिल्ला
अनी बाध्यताले बोकेको रातो झन्डा
म? क्रान्तिकारी माओवादी?

जनसत्ता,बर्गसंघर्ष अनी संबिधानसभा
गोली लागेको खुट्टा
बमले खायका हातका औंलाहरु
न चाहेर छोड्न सकिन्थ्यो न स्विकार्न नै
म,एउटा जनसेना अनी मेरा सस्मरण।

तर अफसोच आजको यथार्थ,
अशिक्षित र शिप बिहिन मेरा पाखुरा
छिन्न-बिन्न मेरो परिवार
अनिश्चित र असुरक्षित भबिश्य
सायद स्वर्ग र नर्क को प्रतक्ष्य प्रतिफल
म, शिबिरबाट निकालिएको भुतपुर्ब छापामार
क. उज्वल - मेरो योग्यता र मेरो परिचय।

बाटो बिराएका जिन्दगीका पाईलाहरु
गुमेको आफ्नोपन र नभेटिएका गन्तब्यहरु
लक्ष्य उही तर फरक-फरक बाटाहरु
सुकर्म र दुस्कर्म का प्रभावहरु
आज अस्पतालको शैयामा म अनी सेतो एप्प्रोनमा सजिएकी उनी  
अर्थात डा. स्‍मृति - मेरो बिगत अनी मेरो सपना!!!!!     

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ 
एउटै श्वासमा चल्ने मुटु, आज वारी पारी भा'छ।

तिमी फुल गुलाब झैं, म बास्ना भै छाउछु भन्थ्यौ 
तर आज त्यो फुलबारी, सिउडी फुल्ने टारी भा'छ।

कुनै दिन यस्ता थिय, रात बित्थ्यो संबादले
तर अचेल तिम्रा बचन, मुटु चिर्ने आरी भा'छ।       

बन्दकी को मेरो जीवन, चाहे होला लिलामी नै। 
सुनेको छु तिम्रो बरु, छिन्-छिन्मै नामसारी भा'छ। 

घमन्डले बाटो फेर्यौ, नाप्न खोज्यौ सम्पत्तीले
धन्य आज 'बिश्व' पनि, तिम्रै हाराहारी भा'छ।
सम्झिएर पुराना दिन, आज मन भारी भा'छ।।२।। 

Thursday, April 24, 2014

दुई एकान भन्नेहरु दुईदुना चार भए,

धेरैभए नोटमा बिक्ने भोटका कुरा
आउ गरौं बदमासी र खोटका कुरा।।    

कती गर्छौ मालिकका बखान सधैं  
आउ गरौं गरीबका चोटका कुरा।। 

बेचिए कालाकोटे अन्धाका बजारमा
बुख्याँचाले के को सुन्थ्यो कोटका कुरा  

बाँचौ, बचाउँ र बाँच्न दिउँ सबैलाई 
जातियता बिर्सेंर गरौं अठोटका कुरा।

दुई एकान भन्नेहरु दुईदुना चार भए,
आउ काम्रेड मैदानमै गरौ दुनोटका कुरा।

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी

तिमी सँगै खुशी भेंटे, छुन देउ सानी 
रुनै परे तिमी सँगै, रुन देउ सानी। 

एउटा गीत लेखेको छु, तिम्रो संगितमा
सुमधुर हुन्थ्यो मधुर, धून देउ सानी। 

बिर्सिदेउ पुराना घाउ, सम्हाली देउ मन
दागहरु मेटाउँछु, धुन देउ सानी।

तिम्रो न्यानो अँगालो नै, स्वर्गसरी लाग्छ 
सधैं भरी मलाई तिम्रै, हुन देउ सानी। 

मेरो माया तिमीलाई, गुन लाग्छ भने 
गुन साट्न बदलामा, गुन देउ सानी। 
तिमी सँगै खुशी भेंटे, छुन देउ सानी।।   

बोलाई मलाई, तिमी अन्तै लुक्यौ कि?

बोलाई मलाई, तिमी अन्तै ढुक्यौ कि
जुन झैं बादलमा, तिमी आँफै लुक्यौ कि। 

बाँचुन्जेल तिमी सँगै, जिउँछु भन्थ्यौ
गरेर बाचा, तिमी आँफै चुक्यौ कि। 

बाँधिएर डोरीझैं, साथ हुन्छु भन्थ्यौ
छोडेर साथ, तिमी आँफै फुक्यौ कि। 

यो चोखो मायाको, जित हुन्छ भन्थ्यौ
हारेर मायामा, तिमी आँफै झुक्यौ कि। 

सागर झैं तिमीसँग, बहन्छु भन्थ्यौ
खहरे खोला झैं, तिमी आँफै सुक्यौ कि। 
बोलाई मलाई, तिमी अन्तै लुक्यौ कि।।

अभागी आज आँफै, टुटे पछि थाहा पाँए

के रहेछ मायाप्रिती? छुटे पछि थाहा पाँए,
जवानीको मुल्य मैंले, लुटे पछि थाहा पाँए!

अशुभ भन्थे किन? टुटेका काँचका भाँडा,
अभागी आज आँफै, टुटे पछि थाहा पाँए!

तिमी सँग गर्ने धेरै, बात बाँकी छ।

यो त सन्ध्या हो पुरै, रात बाँकी छ,
तिमी सँग गर्ने धेरै, बात बाँकी छ।

कती रुज्छौ एक्लै ति परेली भिजाई,
तिमी संगै मायाको, बर्षात बाँकी छ।

मदहोस् नजरका नशा नपिलाउ आजै,
तिम्रै लागि एउटा सिंगै, मात बाँकी छ।

छिनमै गर्मी छिनमै जाडो,यो मायाको मौसम,
केही बेर पर्ख प्रिया, पुरै हिमपात बाँकी छ।