Wednesday, September 3, 2014

लघुकथा : गाई र गोरु।

माया गरेर गोठैमा पुजिएकी गाई र चुट्दै जोताईएको गोरु बिच झगडा परेछ। 

गाईले फुकिएर बाहिरी संसार हेर्न नपाएको, दिनहुँ लाम्टो तानेर दुध पिलाउनु परेको, गर्भाधान हुनुपरेको र बाच्छाबाच्छी हेर्नुपरेको गुनासो गरिछन। गोरु पनि के कम, चुट्दै जोताएको, गाढा तानेको, भारी बोकाएको, पुच्छर निमोठ्दै मुखौरो लगाएर मेलो लगाएको, खोलेपानीमा हेलाँ गरेको, बन्सो घाँस गाईलाई र घुरान, पराल आफुलाई ख्वाएको गुनासो गरेछ।  

दुबैले आ-आफ्ना पिर पोख्न भगवान पुकारेछन र समान अधिकार माग गरेछन। 

सृस्‍टिकर्ता ब्रह्मा स्वयम प्रकट भएर गाई गोरु सभा डाक्नुभएछ र सोध्नुभएछ: "तिमीहरुको तपस्याले म प्रसन्न भए। आ-आफ्नो समस्या र माग जाहेर गर।"

मुन्टो निहुराउँदै गाईले गोठबाट फुकिनुपर्ने, आफ्नो ईच्छा र आकांक्षामा गोरुको मनोमानी नचल्नुपर्ने, आफुपनी गोठ बाहिर काम गर्न पाउनुपर्ने, बाच्छाबाच्छी गोरुले पनि हुर्काउनुपर्ने र गाईका कामहरुमा सघाउनुपर्ने माग राखिछन। गोरु झन के कम, जुरो तनक्क तानेर, गाईले खाने खोलेपानी देखी घाँसपराल उही जोतिएर उब्जेको ध्वाँस लगाएछ। मेलापात देखी गौचरण सम्म आफु चुटिएको तर गाईलाई भने ढोगेको, पूजा गरेको आरोप लगाएछ। 

सृस्‍टिकर्ता ब्रह्मा दुबैको गुनासो, अहंकार र आक्रोस देखेर मुसुमुसु हाँस्नु भएछ र भन्नुभएछ: लक्ष्मी स्वरुप पुजिएकी गाई र खनजोत गरेर सृस्‍टि सिंगारेको गोरुलाई समान अधिकार त दिने तर गाईलाई जोताएर गोरुको दुध कसले पिउने?

(अधिकार मात्रै भनेर एकापसमा लडेर मात्रै भएन, एकअर्काका शारिरिक संरचना, प्राकृतिक नियम र तिनका उपयोगीता पनि बुझ्दिनुपर्‍यो। मायाले संसार जितिन्छ, जाबो एउटा घर र श्रीमान/श्रीमतीको मन जित्न नसकिने भन्ने होईन। महिलाहरु हेपिएका र भिन्न व्यबहार गरेर पिडा थोपरिएका धेरै गहन बुँदाहरुमा न्याय दिईनुपर्छ र अन्य शिक्षित समाज सँगै सुधारिंदै जान्छन। महिलालाई समान शिक्षा र अवसरमा सहभागी गराईनु पर्छ तर अधिकार र आरक्षणको नाउँमा अस्तित्व र जिम्मेवारी नजरअन्दाज गर्नु भएन।)

लघुकथा : खरायो र बिरालो।

घरबेटी भै'खाको म। घराँ एक जोडी खरायो र बिरालो थे। दुबै घरपालुवा। एकापसमा रत्तिएका। म हुन्जेल तिनमा बडो प्रेम थियो। छोराछोरी हुर्किए, जान्नेसुन्ने भए, आफ्ना व्यबहार आँफै गर्ने भए, हामी बुढाबुढी घर रुँघेर बस्ने भयौं।

जिन्दगी राम्रै सुखै थियो। पढेलेखेका छोराछोरीसँगै नयाँ नयाँ शैली र संस्कार भित्रिए, बुहारी भित्रिए। किचलो बढ्दै गयो। सन्तानलाई घरका भन्दा छिमेकीका रहनसहन राम्रो लाग्न थाल्यो। एकतमास सप्पै बुहारीका माईती र छोराका ससुराली हामी भन्दा प्यारो भए, उनिहरुकै खुशीका लागि हामी जोईपोई बनबास जाने भयौ।

हामीले छोडेर पनि त्यो घरमा खुशी छाएन। घर घर जस्तो रहेन। बुहारीलाई अधिकार पुगेन। छोरालाई पुरुषत्व पुगेन। आरक्षण पुगेन। कलहले नाती पनाती सम्मका समुह बन्यो। एकापसमा मनमुटाव र बैमनस्यता बढ्यो। अब एकै घरभित्र पनि एक एक कोठा चाहिने भो। लड्दै गए। 

त्यो देखेर हिजोसम्म मिलेका खरायो र बिरालो पनि लड्न, चिथोर्न थाले। एकले अर्कोलाई जात र रंगको आरोप प्रत्यारोप लगाउन थाले। आ-आफ्ना खोर मागे। आ-आफ्ना कर्मले रमाएका प्राणी आज हेपिएको गुनासो गर्न थाले।

हिजोसम्म खोरको आवश्यकतै नपरेका र एउटै घरभित्र मिलिजुली रमाएका खरायो र बिरालोलाई अब आ-आफ्ना खोर चाहिने भो। यिनले घरभित्र नपाएको स्वतन्त्रता त्यो खोरमा थुनिएर पाउँछु भन्ने बुझ्न थाले। यिनलाई खोरमा थुनेर मालिक हुन पल्किएका केही जमात ति खोरमा फुलबुट्टा भरेर बेच्न तल्लिन छन भने खोरका मालिक बनाईदिने आश्वासन दिएर केही शिकारी आफ्नो शिकार सुरक्षित गर्न हरतरह प्रयासरत छ। 

महिला, दलित, आदीबासी, जनजाती, बाहुनबाद र संघियता सप्पै हेर्दैछु म टुलुटुलु। यिनका आन्दोलन र माग त्यही खरायो र बिरालोको भन्दा रत्ती फरक देख्दिन। यि स्वतन्त्रता र अधिकारको लागि घर छोडेर खोर माग्दैछन र आफु बन्दी भएर मालिक र शिकारीलाई सहयोग गर्दैछन। हिमाली, पहाडी, मधेशी, सम्पूर्ण जातजाती, भाषाभाषी, महिला-पुरुष र बर्गको हित हाम्रो अखन्डता र सार्बभौम शक्तीमा मात्रै छ।

आउनोस् हातेमालो गरौं, दल, बाद, सिद्धान्त र सर्बसत्ताबादले एकअर्कामा देखिएको बिकृति र बैमनष्यता नासेर मेची-काली फैलिएको अखण्ड सुन्दर शान्त नेपालको नेपाली हुँ भनेर गर्व गरौं। 
ईती।

Tuesday, August 19, 2014

छिट्टै आउन परदेशी दाई

कुर्दा कुर्दै थाकी सके, आँखाका यी नानी पनि 
छिट्टै आउन परदेशी दाई, मर्छे तिम्री रानी पनि! 

शान्त भा' छ गाऊ अचेल स्याल शहर पसे पछि 
छिट्टै आउन परदेशी दाई, बाबा भन्छे सानी पनि!! 

आमा आँखा देखनू हुन्न, छोरा भन्छिन बटुवा लाई 
छिट्टै आउन परदेशी दाई, निल्नै छाडीन पानी पनि!!! 

छोरा भेट्ने आशा मार्दै, बुबा आँशु झार्नुहुन्छ 
छिट्टै आउन परदेशी दाई, होला कुराकानी पनि!!!! 

जस्तो छाड्यौ उस्तै छू म, विवाहित कुमारी झै', 
छिट्टै आउन परदेशी दाई, उसै बित्यो जवानी पनि!!!!! 

बिछ्यौनमा नपल्टदै, झर्छ आँशु सम्झिएर 
छिट्टै आउन परदेशी दाई, कस्तो लायौ बानी पनि 
कुर्दा कुर्दै थाकी सके, आँखा का यी नानी पनि!!!!!! 

मृत्‍युपत्र

दुई थोपा आँशु झारेर के भो?
तिमी सँग मैले हारेर के भो?

भोली त अवस्य मर्नु छदैछ,
आजै तिमीले मारेर के भो?

पाप र धर्म जान्दिनौ भने,
आँगनमा तुलसी सारेर के भो?

अब त यो लोक परलोक हुँदैछ,
म हिंड्ने बाटो बारेर के भो?

यो त मृत्‍युपत्र हो "बिश्वराज" को,
तिमीले माया मारेर के भो?
दुई थोपा आँशु झारेर के भो?


Wednesday, August 6, 2014

फुल जस्तो बैंश बरु घाती हुन्छ आमा!

भाग्यमानी पातै पिपल, पाती हुन्छ आमा 
फुल जस्तो बैंश बरु घाती हुन्छ आमा!

परदेश कि दुखि चेली, कोहि छैन आफ्नो,
दुख हेर्ने दैब पनि माथि हुन्छ आमा!

बिहान देखि अबेरसम्म, कामै काम अति,
खाना खाई सुत्न लाई राती हुन्छ आमा!

कहिले बाउ, कहिले छोरा, कहिले पाहुना हरु,
पालै पालो बिच्छौनामा साथी हुन्छ आमा!

सकिन्न कि बाँच्न अब, मर्छु क्यारे यतै,
तडपियर बाँच्नु भन्दा जाती हुन्छ आमा!

Thursday, May 1, 2014

अन्तर्द्वन्द - जिन्दगीको

भालेको डाँक सँगै
बेँसी पँधेरा को पानी
घर-गोढ को धन्दा
त्यसपछी सुरु हुन्थ्यो बिहानी
यस्तै यस्तै त थियो मेरो जिन्दगानी।

विकट पहाडी गाँउ
खरको झुप्रो घर
सानैमा बाबु गुमाउनुको पिडा
अनी गरिवीमा बाँचेको मेरो परिवार  
आमा, म र मेरी बहिनी।

पिछडिएको जनजाती
दुई कोश टाढाको स्कुल
उमेरले पन्ध्र काटिसक्दा पनि
सातौ कक्षाकी मेरी सहपाठी
उनी, स्‍मृति - मेरी मिल्ने साथी।


हुर्कदै गरेको उमेर
जवानी सँगै मनका अन्तरंग
मौलाउदै गरेको हाम्रो प्रेम
सुखमा हुर्किएकी स्‍मृति र उनका आकांक्षा
अनी दु:खले जेलिएको म र मेरो परिवार।

२०५७ फाल्गुन-चैत्र
स्कुल भित्र आर्मी-पुलिस
गाँउ-गाँउ खानतलासी
अनाहक यातना,हत्या र गिरफ्तार
म, मेरा गुरुहरु र हामी माओवादी?

पिरोलिएको मेरो परिवार
लखेटिएको मेरो जीवन
राज्यले दिएको "आतंककारी" को बिल्ला
अनी बाध्यताले बोकेको रातो झन्डा
म? क्रान्तिकारी माओवादी?

जनसत्ता,बर्गसंघर्ष अनी संबिधानसभा
गोली लागेको खुट्टा
बमले खायका हातका औंलाहरु
न चाहेर छोड्न सकिन्थ्यो न स्विकार्न नै
म,एउटा जनसेना अनी मेरा सस्मरण।

तर अफसोच आजको यथार्थ,
अशिक्षित र शिप बिहिन मेरा पाखुरा
छिन्न-बिन्न मेरो परिवार
अनिश्चित र असुरक्षित भबिश्य
सायद स्वर्ग र नर्क को प्रतक्ष्य प्रतिफल
म, शिबिरबाट निकालिएको भुतपुर्ब छापामार
क. उज्वल - मेरो योग्यता र मेरो परिचय।

बाटो बिराएका जिन्दगीका पाईलाहरु
गुमेको आफ्नोपन र नभेटिएका गन्तब्यहरु
लक्ष्य उही तर फरक-फरक बाटाहरु
सुकर्म र दुस्कर्म का प्रभावहरु
आज अस्पतालको शैयामा म अनी सेतो एप्प्रोनमा सजिएकी उनी  
अर्थात डा. स्‍मृति - मेरो बिगत अनी मेरो सपना!!!!!     

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ

त्यता के छ कुन्नी तर, यता मन भारी भा'छ 
एउटै श्वासमा चल्ने मुटु, आज वारी पारी भा'छ।

तिमी फुल गुलाब झैं, म बास्ना भै छाउछु भन्थ्यौ 
तर आज त्यो फुलबारी, सिउडी फुल्ने टारी भा'छ।

कुनै दिन यस्ता थिय, रात बित्थ्यो संबादले
तर अचेल तिम्रा बचन, मुटु चिर्ने आरी भा'छ।       

बन्दकी को मेरो जीवन, चाहे होला लिलामी नै। 
सुनेको छु तिम्रो बरु, छिन्-छिन्मै नामसारी भा'छ। 

घमन्डले बाटो फेर्यौ, नाप्न खोज्यौ सम्पत्तीले
धन्य आज 'बिश्व' पनि, तिम्रै हाराहारी भा'छ।
सम्झिएर पुराना दिन, आज मन भारी भा'छ।।२।।